नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान को तेश्रो वार्षिकोत्सव सम्पन्न

१.     आज मिति २०७२ श्रावण १७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा भण्डारखालस्थित “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को तेश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

२.     सोही अवसरमा प्रधानसेनापति महारथी श्री राणाले उक्त संस्थानको हाताभित्र नवनिर्मित छात्रावास भवन, नर्सिङ्ग महाबिद्यालय भवन र पोलिटेक्निक महाविद्यालय भवनको समुद्घाटन गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्नुहुंदै प्रधानसेनापति श्री राणाले राष्ट्रको समग्र उन्नतिका लागि स्वास्थ्थ क्षेत्रको बिकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कोशे ढुङ्गा (Milestone) को रुपमा रहेको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको उद्देश्य नेपाली सेनाको स्वास्थ्य सेवालाई विस्तार गर्दै स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा एवं स्वास्थ्य विज्ञान शिक्षा प्रदान गर्ने र उक्त संस्थानको परिकल्पना Center of Excellence को रुपमा स्थापित गर्ने रहेको जानकारी गराउनु हुँदै नयाँ शैक्षिक शत्रबाट College of Medical Polytechnic संचालनमा ल्याउने र क्रमिक रुपमा Dental College संचालन गर्ने लक्ष्य रहेको बताउनु भएको थियो । सैनिक कल्याणकारी कोषबाट प्रदान गरिंदै आएको निःशुल्क स्वास्थ्य सुविधालाई थप प्रभावकारी एवं गुणस्तरीय बनाउने उद्धेश्यले महांकालस्थानमा ४५९ बेडको त्रि–चन्द्र मिलिटरी अस्पताल  (भेट्रान्स तथा सिभिल) को निर्माण कार्य दु्रत गतिमा भईरहेको जानकारी दिनु हुँदै भविष्यमा उक्त अस्पतालमा चिकित्सा सेवामा Post Graduate अध्यापन समेत सुरु गर्ने लक्ष्य रहेको बताउनु भएको थियो । सम्बोधन पश्चात प्रधानसेनापति महारथी श्री राणाले नर्सिङ्ग महाविद्यालय तथा चिकित्साशास्त्र महाविद्यालयमा संचालित बार्षिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थी तथा महाविद्यालयका आ–आफ्नो विधामा उत्कृष्ट विद्यार्थीहरुलाई मोमेन्टो तथा नगद पुरस्कार प्रदान गर्नुभएको  थियो । साथै “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान”लाई स्थापना एवं सञ्चालन गर्न आ–आफ्नो क्षेत्रवाट सहयोग पु¥याउनु हुने सम्पुर्ण माहानुभावहरुलाई नेपाली सेनाको तर्फवाट धन्यवाद व्यक्त गर्नु भएको थियो । 

३.     उक्त कार्यक्रमको शुभारम्भमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका सह–कार्यकारी निर्देशक प्रा.सहायकरथी (अ.प्रा.) डा. श्री भैरव कुमार हमालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने संस्थानका कार्यकारी निर्देशक प्रा.उपरथी (अ.प्रा.) डा. श्री प्रकाशराज पाण्डेले संस्थानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. श्री गुणनिधि न्यौपाने, Nepal Medical Council (NMC) का अध्यक्ष  प्राध्यापक डा. श्री धर्मकान्त बास्कोटा र त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा.डा. श्री बिमल कुमार सिन्हाले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 

४.     स्वास्थ्य सम्बन्धि उच्चस्तरिय जनशक्ति उत्पादन गरी स्वास्थ्य क्षेत्रमा राष्ट्रको आवश्यकता पूर्ति गर्न सहयोग पु¥याउने तथा उच्च स्तरीय स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाका बहालवाला र अवकाश प्राप्त व्यक्तिका छोराछोरी र सर्वसाधारणलाई समेत सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्नु संस्थानको मुख्य उद्देश्य रहेको छ । नेपाली सेना र राष्ट्रलाई आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मीको पेशागत दक्षतालाई अभिबृद्धि गरी राष्ट्रकै एक नमुना स्वास्थ्य शिक्षण संस्थानको रुपमा स्थापित गर्ने हेतुले मिति २०६९ जेष्ठ १० गते “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को स्थापना भएको थियो भने उक्त संस्थान श्री सैनिक कल्याणकारी कोषबाट संचालन गरिदै आएको छ । 

५.     उक्त वार्षिकोत्सव समारोहमा Patan Academy of Health Sciences का उपकुलपति प्रा.डा. संगीता भण्डारी, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, शिक्षाविद्, नेपाली सेनाका रथीबृन्दहरु, अन्य सुरक्षा निकायका प्रमुख, त्रि.वि.वि. लगायत चिकित्सा शास्त्र अध्ययन संस्थानका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, संचारकर्मी, स्थानिय व्यक्तित्वहरु लगायत संस्थानमा अध्ययनरत विद्यार्थीहरु तथा तिनका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।