प्रधानसेनापतिद्वारा पूर्वी पृतना तथा मध्य पृतना हे.क्वा.को निरीक्षण भ्रमण सम्पन्न

१. आज मिति २०७२ श्रावण २० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्वारा ईटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना हे.क्वा. र हेटौडास्थित मध्य पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले दुवै पृतना हे.क्वा.मा वीर स्मारकमा माल्यार्पण गर्नुको साथै दुवै पृतनाहरुको जिम्मेवारी क्षेत्रको हालको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिनु भएको थियो । सोही क्रममा प्रधानसेनापति श्री राणाले दुवै स्थानमा सकलदर्जाहरुलाई सम्बोधन गर्नुहुंदै विनासकारी भूकम्पको दौरान नेपाली सेनाका सकलदर्जाहरुले प्रर्दशन गरेको कर्तव्यपरायणता, पेशागत व्यवसायिकता र सेवाभावका कारण नेपाली सेनाको गौरवमय ईतिहासमा एउटा सुनौलो अध्याय थपिएको बताउनु हुंदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्न र आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नु पर्ने कुरामा विशेष जोड दिनु भएको थियो । सोही अवसरमा श्री राणाले विनाशकारी भूकम्पको समयमा पूर्वी पृतना हे.क्वा. तथा मध्य पृतना हे.क्वा. ले गरेका कार्यहरुको प्रशंसा समेत गर्नु भएको थियो । 

३. उक्त निरीक्षण भ्रमण कार्यक्रममा प्रधानसेनापतिको साथमा बलाध्यक्ष रथी बलदेव राज महत, अन्य रथीबृन्द तथा अधिकृतहरुको सहभागीता रहेको थियो ।

४. साथै, उक्त निरिक्षण भ्रमण पश्चात प्रधानसेनापति श्री राणा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।