प्रधानसेनापतिद्वारा उपत्यका पृतना हे.क्वा.को निरीक्षण भ्रमण

१.    आज मिति २०७२ श्रावण २४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्वारा काठमाण्डौं नारायणहिटीस्थित उपत्यका पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२.    निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त पृतना हे.क्वा.को हालको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिनु भएको थियो । सोही क्रममा प्रधानसेनापति श्री राणाले पृतना हे.क्वा.को क्वाटर गार्ड निरिक्षण गर्नुको साथै पृतना अन्तरगतका रथीवृन्द, अधिकृत एवं सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । श्री राणाले नेपाली सेना राज्यको अन्तिम तथा जनताको भरपर्दो शक्तिको रुपमा रहेको, नेपाली सेनाका बिभिन्न लक्ष्यहरुमा भएको प्रगति एवं तालिम, कल्याणकारी, भु.पु. सैनिक सम्मेलन लगायत हालै गएको आम विनासकारी भूकम्पको दौरान नेपाली सेनाका सकलदर्जाहरुले प्रर्दशन गरेको कर्तव्यपरायणता, पेशागत व्यवसायिकता र सेवाभावका कारण नेपाली सेनाको गौरवमय ईतिहासमा एउटा सुनौलो अध्याय थपिएको बताउनु हुंदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्न र आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो । उक्त अवसरमा श्री राणाले उपत्यका पृतनाले गरेका कार्यहरुको समेत प्रशंसा गर्नु भएको थियो ।

३.    यसैगरि प्रतिकुल मौषमको कारण निरिक्षण भ्रमण हुन नसकेपछि आजै श्री राणाले पश्चिम पृतना हे.क्वा.पोखराका रथीवृन्द, अधिकृत तथा सकलदर्जाहरुलाई हालै नेपाली सेनाले प्रयोगमा ल्याएको VSAT (Very Small Aperture Terminal) Communication System  को माध्यमवाट भिडियो सम्बोधन गर्नु भएको थियो ।

४.    उक्त निरीक्षण भ्रमण तथा सम्बोधन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, काठमाण्डौं उपत्यका स्थित मद्दती फैजका पतिहरु लगायत अधिकृत, पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।