सम्माननीय राष्ट्रपतिज्यूबाट नवनियुक्त प्रधान सेनापतिलाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति डा. श्री रामवरण यादवले आज मिति २०७२ भाद्र २४ गते राष्ट्रपति भवन शीतलनिवासमा एक विशेष समारोहका बीच नवनियुक्त प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्ति गर्नुभएको छ । सोही अवसरमा उहाँले प्रधानसेनापति महारथी श्री क्षत्रीलाई पद तथा गोपनीयताको सपथ समेत गराउनु भएको थियो ।  

२. सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा (२) बमोजिम मन्त्रीपरिषद्को मिति २०७२ श्रावण २८ गतेको निर्णय बमोजिम आज मिति २०७२ भाद्र २४ गतेदेखि महारथी श्री राजेन्द्र क्षत्रीलाई नेपाली सेनाको प्रधानसेनापति पदमा नियुक्ती गर्नु भएको हो ।  

३. शितलनिवासमा आयोजित सो समारोहमा सम्माननीय प्रधानमन्त्री लगायतका मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु र नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिति रहेको थियो ।  

४. आजै नवनियुक्त प्रधानसेनापति  महारथी श्री क्षत्रीको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी नवनियुक्त प्रधानसेनापति  महारथी श्री क्षत्रीले श्री त्रिभुवन आर्मी अफिसर्स क्लव परिसरमा नवनिर्मित भवनमा रहेको आफ्नो कार्यकक्षमा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको छ । कार्यालय बहाली पश्चात प्रधानसेनापति श्री क्षत्रीले श्री त्रिभुवन आर्मी अफिसर्स क्लव परिसरमा नवनिर्मित भवनको पोर्टिकोमा नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुहसंग समेत भेटघाट गर्नु भएको थियो ।