नवनियुक्त प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्धारा सैनिक मञ्च टुंडिखेल र वीर स्मारक छाउनीमा श्रद्धान्जली अर्पण एवम् नेपाली सेनाका सकलदर्जालाई सम्बोधन

१. देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित, गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनाको प्रधान सेनापतिमा नवनियुक्त प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ भाद्र २५ गते बिहान सैनिक मञ्च टुंडिखेल र वीर स्मारक छाउनीमा जिम्मेवारी निर्वाह गर्ने क्रममा विरगती प्राप्त गर्ने अमर सपुतहरुप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्नु भएको छ । यसैक्रममा प्रधान सेनापति श्री क्षत्रीले छाउनीस्थित नेपाली सेनाको श्री जगदल गण र लगनखेलस्थित राजदल गणको समेत निरीक्षण भ्रमण गर्नु भएको छ । प्रधान सेनापति श्री क्षत्री जगदल गणको संस्थापक सदस्य एवम् हाल सोही गणको कर्णेल कमाण्डान्ट समेत रहनु भएको छ ।

२. नवनियुक्त प्रधान सेनापति श्री क्षत्रीले आजै जंगी अड्डा परिसरमा एक कार्यक्रमका बीच नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्नु भएको छ । जुन कार्यक्रम नेपाली सेनाका विभिन्न पृतना, वाहिनी, गण, गुल्म तथा शिक्षालयहरु लगायत १३६ स्थानहरुमा एकैसाथ Live-Multicast गरिएको थियो । सम्बोधनको शुभारम्भमा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेनामा कार्यरत रही राष्ट्रले सुम्पेको जिम्मेवारी बहन गर्ने क्रममा प्राणको आहुति दिई वीरगति प्राप्त गरेका सकलदर्जालाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुहुंदै कर्तव्यपालनको सिलसिलामा घाईते भएका सकलदर्जाको शीघ्र स्वास्थ्य लाभ र सु(स्वास्थ्यको कामना गर्नु भएको छ । साथै, गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प र ऐ. २९ गते गएको पराकम्पनबाट जनधनको क्षति व्यहोर्नु परेका नेपाली सेनाका बहालवाला र अवकास प्राप्त सकलदर्जा र परिवारप्रति हृदयदेखि नै सहानुभूति प्रकट गर्दै दुःखद घडीमा नेपाली सेना उहांहरुको साथमा रहेको प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । त्यसैगरी नेपालको संवैधानिक र कानूनी प्रावधान बमोजिम गौरवमय इतिहास बोकेको नेपाली सेनाको महारथी दर्जामा पदोन्नती भई प्रधान सेनापतिमा नियुक्ति भएकोमा प्रधान सेनापति श्री क्षत्रीले राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू र नेपाल सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्नुभएको छ । 

३. सम्बोधनको क्रममा प्रधान सेनापति श्री क्षत्रीले बाह्य र आन्तरिक सुरक्षा वातावरण अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट -Volatile, Uncertain, Complex and Ambigious_ रहेको हुंदा यसका प्रभावहरु नेपालको राष्ट्रिय सुरक्षामा समेत परिरहेको हुंदा नेपाली सेना अत्यन्तै संवेदनशील र यस सम्बन्धमा सधै तयार रहन जरुरी रहेको बताउनुभएको छ । त्यसैगरी नेपालको संविधानद्वारा निर्दिष्ट महत्वपूर्ण राष्ट्रिय हितहरु बिरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक र बाह्य सुरक्षा खतरा तथा चुनौतिहरुको प्रभावकारी ढंगले सामना गर्दै भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई अक्ष्क्षुण राख्न नेपाली सेनालाई पेशागत सैनिक तालिम, हातहतियार तथा उपकरणको उपलब्धता, अपरेशनल तयारी, उच्च हौसला तथा अनुशासन मार्पmत अझ संगठित, सुदृढ र सबल बनाउंदै राष्ट्रिय सुरक्षा तथा स्थिरताको पहरेदार संस्थाको रुपमा थप विकास गर्दै लगिने उल्लेख गर्नुभएको छ । यस महान अभिभारा बहन गर्न सर्वप्रथमतः नेपाली सेना आन्तरिक रुपमा सदा भैंm एक ढिक्का रहि कार्य गर्नुपर्ने र व्यक्तिगत हित भन्दा संस्थागत हित र संस्थागत हित भन्दा राष्ट्रिय हितलाई सर्वोपरि राखेर काम गर्नुपर्ने बताउनु भएको छ । 

४. सम्बोधनको क्रममा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेनाका सकलदर्जाले राष्ट्रभक्ति, सांगठनिक एकता, संस्थाप्रति बफादारिता र काम (Mission) प्रति इमान्दारिता (Integrity), निःस्वार्थ सेवा, सैनिक अनुशासन, साहस, आपसी भाइचारा र जातीय, भाषिक तथा सांस्कृतिक विविधता प्रति सम्मान तथा मुल्यमान्यता र सिद्धान्तहरुलाई मार्गदर्शन मानी व्यवहार गर्नुपर्ने उल्लेख गर्नुहुंदै नेपाली सेनाका सकलदर्जा बलियो भएमात्र संगठन बलियो हुने र संगठन बलियो भएमात्र देश बलियो हुने हुंदा यस कुरालाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनु भएको छ । 

५. अन्त्यमा, प्रधान सेनापति श्री क्षत्रीले अहिले मुलुक जटिल चुनौतिहरुको दोसाँधमा उभिएको र वीर पुर्खाहरुले निर्माण गरेको मजवुत जगमा उभिएर राज्यका सबै शक्ति संयन्त्रहरुसंग हातेमालो गर्दै आगामी चुनौतिको सामना र अवसरहरुको सदुपयोग गरी समयानुकुल सुधार गर्दै एउटा सशक्त र आमजनताको भरोसाको केन्द्रको रुपमा नेपाली सेनालाई अघि बढाउने प्रतिज्ञा गर्नुभई सकलदर्जाको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नु भएको छ ।