सम्माननीय प्रधानमन्त्रीद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१. सम्माननीय प्रधानमन्त्री श्री माधव कुमार नेपालले आज मिति २०६७ मंसिर २६ गते भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । २. प्रधानमन्त्रीबाट सि.सं. ४० पदिक तथा हुद्दा अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने हुद्दा क्याडेट अर्जुन सुब्वालाई गौरवको प्रतिक Sword of Honour प्रदान गर्नुभयो । नौ महिना अवधिको उक्त तालिममा १७ जना पदिक क्याडेट र ३४ जना हुद्दा क्याडेट सहित जम्मा ५१ जना सम्मिलित थिए । ३. सो अवसरमा प्रधानमन्त्रीद्वारा आयुक्त पद प्रदान कवाजमा सम्मिलित अधिकृत क्याडेटहरुले प्रदर्शन गरेको कवाज निरीक्षण गर्नुका साथै नवआयुक्त अधिकृतहरुलाई सम्वोधन समेत गर्नुभयो । सम्बोधनको क्रममा वहाँले जस्तोसुकै परिस्थितीमा पनि सरकारको आदेशको पालनाका लागि ज्यानको प्रवाह नगरी बाह्य र आन्तरिक खतराबाट राष्ट्रलाई पुर्ण सुरक्षित राख्न सदा तत्पर रहने र अहोरात्र कर्तव्यपथमा खट्टिई जनधनको सुरक्षामा नेपाली सेनाले आफुलाई समर्पित गरेको तथ्य सर्वविदितै भएको बताउनु हुँदै वर्तमान समयमा नेपाली सेनाले राष्ट्र र राष्ट्रियताका लागि सगर्व समर्पित रहनुको साथै अन्तर्राष्ट्रिय क्षेत्रमा शान्तिको सन्देश फैलाउने कार्यमा समेत योगदान दिदैं आएको कारण देशको पहिचान एवं गौरवलाई विश्वव्यापीकरण गराउन ठुलो मद्धत मिलेको उल्लेख गर्नुभयो । साथै वहाँले नवआयुक्त अधिकृतहरुलाई राष्ट्र र जनताका निमित्त सेवक भई काम गर्न आफुलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सदा सक्षम एवं सफल हुन शुभकामना समेत दिनुभयो । ४. सो आयुक्त पद प्रदान समारोहमा प्रधानसेनापति, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा अन्य दर्जाहरु, सशस्त्र प्रहरी तथा जनपद प्रहरीका उच्चपदस्थ अधिकृतहरु, नेपाली सेनाका भूतपूर्व प्रधानसेनापति तथा रथीवृन्दहरु र नवआयुक्त अधिकृतहरुका परिवारजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।