प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्धारा पूर्वाञ्चल क्षेत्रमा तैनाथ युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७२ आश्विन ४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्धारा धनकुटा जिल्लाको धनकुटा बजारस्थित नवनिर्मित निशान भगवती मन्दिरको समुदघाटन् गर्नु भएको छ । आजै वहाँले पूर्वी पृतना हे.क्वा. अन्तरगतको नं.२ बाहिनी अड्डा तथा सो अन्तरगतको श्रीमेहर गणको निरिक्षण भ्रमण गर्नु भएको छ । 

२. निरिक्षणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त फर्मेशन तथा युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै उक्त युनिटहरुका सकल दर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मुल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै बर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भइ मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भइ लाग्नुपर्नेमा सकल दर्जालाई बिशेष जोड दिनुभएको छ । 

३. प्रधानसेनापति श्री क्षत्री आज धनकुटा स्थित नं.२ बाहिनी अड्डामा मुकाम हुनु भई भोली मिति २०७२ आश्विन ०५ गते ईटहरी स्थित पूर्वी पृतना हे.क्वा. र झापा स्थित नं.२१ बाहिनी अड्डा र अन्तरगतका युनिटहरुको निरिक्षण तथा भ्रमण पश्चात काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।