प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा लिगल सेमिनारका सहभागीहरुलाई निर्देशन

१. आज मिति २०७२ आश्विन ०७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेना प्राड विवाकले आयोजना गरेको चौथो लिगल सेमिनारका सहभागीहरुलाइ विशेष निर्देशन दिनुभएको छ । 

२. उक्त सेमिनारमा सहभागीहरुलाई निर्देशन दिदैं प्रधान सेनापति महारथी श्री क्षत्रीले सैनिक संगठनलाई कानुनी पक्षमा सहयोग र सल्लाह दिने तथा सैनिक न्याय प्रशासनलाई संचालन गर्नमा प्राड विवाकको भूमिका अझै बढ्दै गएको बताउनुभयो । सैनिक न्याय प्रणालीमा गल्ती गर्नेले उन्मुक्ति पाउन नसक्ने धेरै दृष्टान्त रहेको चर्चा गर्नुहुँदै प्रधान सेनापति श्री क्षत्रीले बिषय विज्ञहरुलाई आमन्त्रण गरी नियमित रुपमा प्राड विवाकले सेमिनार आयोजना गर्ने गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । 

३. बलाध्यक्ष रथी श्री बलदेव राज महतले यही आश्विन ५ गते उद्घाटन गर्नुभएको उक्त सेमिनारमा जंगी अड्डा लगायत पृतना, बाहिनी प्राड विवाक शाखाहरुमा कार्यरत प्राड अधिकृत र प्राड पदिकहरुको सहभागिता रहेको थियो । सेमिनारमा प्राड विवाक अधिकृतहरुबाट बार्षिक कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो भने विबिध कानुनी बिषयमा विज्ञहरुबाट समेत प्रस्तुतिकरण भएको थियो । उक्त कार्यक्रमको आजै प्राड विवाक उपरथी श्री होम कुमार लावतीले समापन गर्नुभएको छ । 

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत तथा पदिकहरुको उपस्थिती रहेको थियो ।