अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्वर) को उपलक्ष्यमा प्रधान सेनापतिबाट सकल दर्जालाई दिनुभएको सन्देश

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्वर) को उपलक्ष्यमा प्रधान सेनापतिबाट सकल दर्जालाई दिनुभएको सन्देश

१. संयुक्त राष्ट्र संघको महासभाद्वारा सन् १९४८ डिसेम्वर १० मा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ पारित भएको दिनको अवसरमा विश्वव्यापी रुपमा नै १० डिसेम्वरलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउँदै आईएको छ । वर्तमान नेपालको संविधान २०७२ ले समेत मानव अधिकारको संवैधानिक अस्तित्व र हैसियतलाई पूर्ण रुपमा स्वीकार गरी थप शक्तिशाली बनाएको छ ।

२. विगतको १० वर्षे सशस्त्र द्वन्द्वबाट शासन पद्धतिको परिवर्तन, सुरक्षा निकायले निर्वाह गरेको भूमिका, तत्कालिन विद्रोही लडाकुको नेपाली सेनामा समायोजन, तत्कालिन विद्रोही पक्षको राज्य संचालनमा सहभागिता, अन्तरिम राहतको व्यवस्था, समाजमा आपसी मेलमिलापको अवस्था एवं राज्यको पुनर्संरचना भई राजनीतिक संक्रमण अन्त्य भएको तथ्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतले प्रशंसा समेत गरेको छ ।

३. उक्त तथ्यलाई आत्मसात गर्दै शान्ति सम्झौताको बाँकी कार्यका रुपमा रहेको संक्रमणकालिन न्यायको सम्बन्धमा सो सम्बन्धी स्थापना भएका र हुने सम्पूर्ण संयन्त्रहरुबाट उचित तवरले सम्बोधन गरिने छ भनि नेपाली सेना विश्वास गर्दछ ।

४. मानव अधिकारलाई पूर्ण रुपमा अभ्यास गर्न संरचनात्मक एवं संस्थागत व्यवस्थाहरुका अतिरिक्त संस्थागत प्रतिवद्धता समेत आवश्यक हुन्छ । यसै सन्दर्भमा नेपाली सेनाले मानव अधिकारलाई सैनिक जीवनको पद्धति (Routine) का रुपमा आत्मसाथ गर्दे मानव अधिकारको सुनिश्चितता र कार्यान्वयनमा विशेष जोड दिदै आएको छ ।

५. नेपाली सेनामा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्बन्धमा सकलदर्जालाई जानकारी गराउन श्री मानव अधिकार निर्देशनालय, जंगी अड्डाबाट पृतना एवं बाहिनी तहमा रहेका मानव अधिकार महाशाखा र शाखाहरु मार्फत वार्षिक रुपमा योजना तयार गरी प्रत्येक महिना हरेक युनिट/सव युनिटमा कक्षा सञ्चालन गर्न निर्देशन जारी गरी सकिएको छ । यसबाट मानव अधिकार, International Humanitarian Law (IHL), संक्रमणकालिन न्याय लगायतका अत्यावश्यक विषयहरुमा सकलदर्जाहरु पूर्ण रुपमा सजग, सतर्क र जिम्मेवार हुनेछन् भन्ने विश्वास लिएको छु ।

६. यसै अवसरमा नेपाली सेनाका सकलदर्जाहरुलाई आफ्नो अन्तह्दयदेखि संस्था र राष्ट्रप्रति बफादारी र समर्पण भावका साथ उच्च नैतिकता, सैनिक आचरण र पूर्ण रुपमा अनुशासित भई लाग्न आव्हान समेत गर्दछु ।

७. अन्त्यमा मानव अधिकारको क्षेत्रमा नेपाली सेनालाई सहयोग गर्ने सबै सरकारी निकाय तथा स्वदेशी एवं विदेशी मानव अधिकारवादी संघ संस्थाहरुलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।