प्रधान सेनापतिज्यूको सुदूर पश्चिम र मध्य पश्चिमाञ्चल क्षेत्रको निरीक्षण भ्रमण

१. मिति २०६९ असोज १६ गते देखि सुदुर पश्चिम पृतना र मध्य पश्चिम पृतना अन्तर्गतका विभिन्न युनिटहरुको निरिक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.को निरिक्षण भ्रमण आज मिति २०६९ असोज १९ गते सम्पन्न भएको छ । २. सेनाको पेशागत दक्षता र व्यवसायिकतामा कुनै पनि प्रकारको सम्झौता गर्नुहुन्न भन्ने मान्यता राख्नु हुने प्रधानसेनापति आफ्नो फौजको यथास्थिति बुझ्न बिकट स्थान दार्चुला, बैतडी, बझाङ्ग, खप्तड, बाजुरा, अछाम, हुम्ला, मुगु, जुम्ला, दैलेख, डोल्पा, मनमाई, रुकुम, प्युठानमा रहेका फौजहरुसंग भेटघाटमा संलग्न हुनु भएको थियो । ३. निरिक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले गण गुल्मका सकल दर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । फौजहरुसंगको भेटघाटको क्रममा प्रधान सेनापति राणाले नेपाली सेनाले आफ्ना लक्ष्यहरु हासिल गर्ने तर्फ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाउने कार्य भइरहेको जानकारी दिंदै नेपाली जनताले सेनामाथि ठूलो भरोसा, सम्मान र माया दर्शाएको कुरा व्यक्त गर्नु भएको थियो । यस्तैगरी प्रधान सेनापति राणाले शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउन पूर्व माओवादी लडाकुहरुको समायोजन कार्यले ठोस दिशा लिई अन्तिम चरणमा पुगेको बताउनु भएको थियो । ४. वहांले नेपाली सेना अराजनैतिक एवं समावेशी चरित्र भएको र यसको आधारभूत मूल्य, मान्यता एवं व्यवसायिक क्षमतामा कुनै प्रकारको सम्झौता नगरिने बताउंदै सबै तहका कमाण्डरहरुले आफ्ना फौजसंग निरन्तर अन्तरक्रिया, भेटघाट गर्न निर्देशन दिनुभयो । कुनैपनि किसिमको भ्रष्टाचार दण्डनिय हुने कुरामा जोड दिंदै प्रधान सेनापति राणाले सही तालिम, अनुशासन, दृढ संकल्पको जगमा उभिएर पेशेवार सैनिक बन्न सकल दर्जालाई प्रेरित गर्नु भएको थियो । ५. हाल सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, आवास तथा अन्य कल्याणकारी कार्यमा सकल दर्जा र भूतपूर्व सैनिकहरुको पहुंच विस्तार गर्ने तर्फ कार्य भइरहेको बताउंदै प्रधान सेनापति राणाले सैनिकनागरिक सम्बन्धलाई प्रगाढ बनाउने तर्फ कार्य गर्न कमाण्डरहरुलाई निर्देशन दिनु भयो । नेपाल, नेपाली जनता र नेपाली सेनाको चौतर्फी हित नै आफ्नो एक मात्र लक्ष्य रहेको बताउंदै प्रधान सेनापति राणाले जवानहरुका गुनासो, समस्याहरु सुनी त्यसलाई निराकरण गर्न तत्काल निर्देशन दिनु भएको थियो । प्रत्येक व्यारेकमा जवानहरुले प्रधान सेनापतिसंग स्वस्फूर्त ढंगबाट अन्तरक्रिया गरेका थिए । ६. भ्रमणको दौरान प्रधान सेनापति राणाले आफ्नो जीवनको उर्वर वर्षहरु नेपाली सेनामा लगाएर सेवा निवृत्त भएका भू.पू. सैनिकहरु संग अन्तरक्रिया गरी उनीहरुका समस्या एवं सुझावहरु बारे अवगत हुनु भएको थियो । आफ्ना सुझाव एवं सल्लाहहरु निर्धक्क संग राख्न भनिएको यस भ्रमणमा प्रधानसेनापति राणाले सुरक्षा वस्तुस्थिति बुझ्नुका साथै स्थानीय प्रशासक एवं सुरक्षा निकायका अधिकृतहरु संग अन्तरक्रिया गर्नु भएको थियो । ७ साथै प्रधान सेनापति राणाले नेपाली सेनाले निर्माण गरिरहेको डोल्पा-दुनै तथा नाग्मा-गमगढी सडक निर्माणको स्थलगत निरीक्षण पनि गर्नु भएको थियो। ८. थप जानकारीको लागि मोवाइल नं ९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नु हुनेछ ।