नेपाली सेनाद्वारा जोखिमयुक्त भवन भत्काउने तथा भग्नावशेष हटाउने कार्य जारी

१. नेपाली सेनाले भूकम्पबाट अति प्रभावित १४ वटा जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै प्राथमिकताका साथ भूकम्पबाट क्षतिग्रस्त भई जोखिमयुक्त घरहरुलाई भत्काउंदै सर्वसाधारण जनतालाई सुरक्षाको प्रत्याभूति दिलाई जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान दिंदै आईरहेको छ । नेपाल सरकार, शहरी बिकास मन्त्रालयको संयोजकत्वमा जोखिमयुक्त क्षतिग्रस्त भवनहरु भत्काउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सम्बन्धित नगरपालिका÷गा.वि.स. समेत संलग्नतामा उक्त कार्य संचालन गर्दै आईरहेको छ । फिल्डमा जोखिमयुक्त भवन भत्काउने कार्यको नेतृत्व नेपाली सेनाले गर्दै आएको छ  र यस कार्यको लागि आवश्यक पर्ने ईक्युप्मेन्ट तथा सामाग्रीहरु उपलव्ध हुने क्रम जारी रहेको छ ।

२. यसैक्रममा आज बिहानसम्म नेपाली सेना परिचालन भई धादिङ्ग जिल्लाको विभिन्न स्थानमा रहेको ४१४ वटा घर, नुवाकोट जिल्लाको ५६०, रसुवा जिल्लाको ७२, मकवानपुर जिल्लाको ८४, दोलखा जिल्लाको ७५, रामेछाप जिल्लाको ८६, सिन्धुली जिल्लाको २३८, गोरखा जिल्लाको ३३२, सिन्धुपाल्चोक जिल्लाको ४६१, काभ्रेपलान्चोक जिल्लाको ८२१ र ओखलढुंगाको १९९ वटा जोखिमयुक्त घरहरु भत्काउने कार्य गरेको छ । 

३. त्यसैगरी काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाहरुमा गरिएको सर्वेक्षणले क्रमशः १४५१, १९९८ र ६०५ वटा जोखिमयुक्त घरहरु भत्काई व्यवस्थापन गर्नुपर्नेमा काठमाण्डौ जिल्लामा ८२२, भक्तपुर जिल्लामा ६३० र ललितपुर जिल्लामा ३०० वटा जोखिमयुक्त घरहरु सुरक्षा फौजको क्षमताभन्दा बाहिर रहेको छ । हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले काठमाण्डौ जिल्लामा २१४, भक्तपुर जिल्लामा ४०७ र ललितपुर जिल्लामा २३७ वटा जोखिमयुक्त घरहरु पूर्णरुपमा भत्काउने कार्य सम्पन्न गरिसकेको छ । 

४. त्यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले  त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, जगतनारायण मन्दिर, धरहरा, भिमसेन दरवार, जैसीदेवल, दरबार हाई स्कुल, पशुपतिनाथ, जयबागेश्वरी, टोखा, टेकुस्थित बमबिकटेश्वर महादेव मन्दिर, बज्रयोगिनी मन्दिर, स्वयम्भु, बालाजु, ईन्द्रायणी, भक्तपुर एवम् पाटन क्षेत्र गरि जम्मा १७ स्थानहरुको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्य समापन गरिसकेको छ । 

५. यसैगरी हनुमानढोका, नारायण मन्दिर सत्तल, नेपाल राष्ट्र बैंक, विश्व निकेतन विद्यालय, सांखु, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर र चागुँनारायण मन्दिर गरी जम्मा ७ स्थानहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्य गरिरहेको छ भने निकट भविष्यमा छाउनीस्थित राष्ट्रिय संग्राहालय, हनुमानढोका संग्राहालय र शंखरापुर साँखुस्थित ४ वटा मन्दिरहरु गरी जम्मा ३ स्थानहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्य योजना रहेको   छ । 

६. नेपाली सेना पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।